खै त विकास?

आशा साथै भरोसा नित जनमनको क्वाप्प पार्दै पचायौ
मर्दै छन् सर्वहारा अविरल दुखमा रक्त चुस्दै रमायौ
भन्थ्यौ रे देश हाम्रो प्रगति सुपथमा हिँड्छ भुत्रो हिँडायौ।।१
सत्ताको मार्ग आफ्नो सहज सरलको गर्न चारो फिँजाई
झुक्यायौ गाउँ सारा झलमल गरिने बात नाना रचाई
गर्दै छौ आज राजै सकल मुलुकमा खै कता भो निकास?
कुर्सी मै मात्र तिम्रो निरत मन हुँदा हुन्छ यत्रो विकास।।२
खोक्छौ कैले अनेकौँ प्रवचन कलही जातको ढोल पिट्दै
बोक्छौ रे मूल नारा जग खलबलिने धर्मको खोल ओड्दै
लिन्छौ झोले र चम्चे नित सँगसँगमा के गर्यौ लोक निम्ति
ख्याँस्यौ के नै हजारौँ गफ र छल गरी के गर्यौ देश निम्ति?३
आम्दानी खर्च केहीपनि सँग नहुँदा पाल्दछन् रोग कोही
कोही मर्दैछ भोकै र कति धन नभै काट्दछन् रात रोई
तिम्रो पो साथ पैसो छ पर मुलुकको अस्पतालै चहार्छौ
निर्धोको निम्ति के नै छ भन मुलुकमा दिन्छु सम्वृद्धि भन्छौ।।४
गाडी चढ्छौ करोडौँ परल नगदको देश सेवा भनेर
गाड्छौ आँखा नराम्रो तहबिल सबमा चोर जस्तै गरेर
छैनन् कोही युवा ती न मुलुक रहने रोजगारी कुनै छ
गर्दैनौ ता व्यवस्था विकसित कसरी हुन्छ भन्द्यौ स्वदेश??५
छन्द: स्रग्धरा
विभा
विभा
saarai mitho bro
ReplyDeleteLoved it!💝💝
ReplyDelete